काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि अन्तिम तयारी थालेको छ। गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएसँगै कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने लक्ष्य राखेको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजालाई त्रुटीरहित बनाउन हाल ३५ जना कर्मचारी काममा निरन्तर व्यस्त छन्। माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२ को प्रावधान बमोजिम परीक्षा सकिएको छोटो अवधिमै नतिजा ल्याउने गरी काम भइरहेको उनले बताए।
यस वर्षको नतिजा वैशाख २९ भित्रै सार्वजनिक गर्ने गरी तयारीलाई तीव्र पारिएको छ। गत वर्षको परीक्षामा नियमित र स्तरवृद्धितर्फ गरी देशभरबाट कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक प्राविधिक परीक्षणहरू पनि सँगसँगै गरिरहेको जनाएको छ।
बोर्डले प्रकाशित गरेको सूचना अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र विभिन्न आधिकारिक वेबसाइटहरूबाट हेर्न सकिनेछ। नतिजा प्राप्त गर्नका लागि बोर्डले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ।
एसएमएस र आईभीआर सेवा
परीक्षार्थीले नेपाल टेलिकमको १६०० मा एसएमएस वा फोन गरेर नतिजा थाहा पाउन सक्नेछन्। त्यसैगरी जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।














