काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किंदा ३७ जना घाइते भएका छन् ।
काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३-००१-००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१-००६ ख ७४९९ नम्बरको बसले गएराति ११ बजेको समयमा पछाडिबाट ठक्कर दिएको थियो ।
त्यसपछि सो बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो । तीन वटा सवारी साधनका ६८ यात्रुहरुमध्ये ३७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीले दुई वटा बस र ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।














