काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल स्कटल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको छ । वर्षाका कारण अवरुद्ध भएपछि डिएलएस पद्धतिका आधारमा ३९ ओभरमा २२१ रनको नयाँ लक्ष्य पाएको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात निकै कमजोर रह्यो । प्रारम्भिक ब्याटरद्वय विनोद भण्डारी १० रन र अर्जुन कुमाल शुन्य रनमा समेटिएपछि नेपाल दबाबमा आएको थियो । कप्तान रोहित पौडेलले ३२ र आसिफ शेखले २१ रन जोडेर इनिङ सम्हाल्ने प्रयास गरे पनि मध्यक्रम धरमराएको थियो ।
खेलमा दिपेन्द्र सिंह ऐरीले ४९ बलमा ५५ रनको अर्धशतकीय योगदान दिँदै नेपाललाई खेलमा फर्काएका थिए । तर, अन्त्यतिर गुल्सन झाले विष्फोटक ब्याटिङ गर्दै मात्र २८ बलमा ५० रन पूरा गरे । उनले कुल ३५ बलमा ५ छक्का र २ चौकाको मद्दतले अविजित ६१ रन बनाए पनि टोलीलाई जित दिलाउन २ रनले चुके । स्कटल्याण्डका लागि ब्राड क्युरीले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले ६२ बलमा ७५ रनको आक्रामक इनिङ खेलेका थिए ।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछाने सबैभन्दा सफल बलर रहे । उनले १० ओभरमा मात्र ४१ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । त्यस्तै, करण केसी र नन्दन यादवले समान २–२ विकेट हात पारे ।














