काठमाडौं। काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित संस्थागत शिक्षण संस्थाहरूमा उपलब्ध छात्रवृत्ति कोटामा विद्यार्थी छनोट गर्नका लागि परीक्षा प्रणाली अपनाउन लागेको हो।
महानगरपालिकाले जारी गरेको सूचना अनुसार छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले २०८३ साल जेठ १ गते बिहान १० बजेदेखि अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदन फाराम भर्ने अन्तिम म्याद जेठ १० गते राति ११ः५९ बजेसम्म तोकिएको छ। विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा तोकिएको अनलाइन आवेदन पोर्टल मार्फत सजिलै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
छात्रवृत्ति छनोटका लागि लिइने परीक्षा २०८३ साल जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने तय भएको छ। परीक्षामा माध्यमिक तह ९कक्षा १०० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरपालिकाले स्पष्ट पारेको छ।
विभिन्न विषयगत अङ्कभार, कुन विद्यालयमा कति छात्रवृत्ति कोटा उपलब्ध छ र परीक्षा केन्द्रहरू कहाँ-कहाँ रहनेछन् भन्ने जस्ता विस्तृत विवरणहरू महानगरपालिकाको वेबसाइटमा उपलब्ध गराइएको छ।














