काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा बोलाउन नेपाली कांग्रेसले माग गरेको छ ।
आजको बैठकको आकस्मिक समयमा बोल्दै सचेतक निश्कल राईले रूलिङ गरेर प्रधानमन्त्रीलाई बैठकमा बोलाउन सभामुखलाई आग्रह गरेका हुन्।
‘हजुर हाम्रो नायक पनि हो । तपाईंले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन,’ राईले भने, ‘त्यसैले सभामुख मार्फत तत्काल सम्माननीय ज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु ।’
उनले आफैँले बनाएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचीको दिन पनि प्रधानमन्त्रीलाई सदनमा नदेखिनु लज्जास्पद भएको बताए ।सांसद राईले संसद्को गरिमा र प्रतिष्ठा जोगाउने मुख्य जिम्मेवारी सभामुखको भएको स्मरण गराउँदै यस विषयमा सभामुखको गम्भीर ध्यानाकर्षण गराए।
उनले सदनको इज्जत कायम राख्न सभामुखले खुट्टा कमाउन नहुने र यदि सभामुखले नै सभाको गरिमा जोगाउन नसके कसैले पनि संसद्को सम्मान बढाउन नसक्ने जिकिर गरे। आफ्नै सरकारले ल्याएको नीति तथा कार्यक्रमको जवाफ दिन संसद् नआउनुले संसदीय व्यवस्थाकै उपहास गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
सम्बोधनको अन्त्यमा सांसद राईले सभामुखमार्फत प्रधानमन्त्रीलाई तत्काल संसद्मा उपस्थित गराउन माग गरे।














