ट्रम्प र सी जिनपिङबीच वार्ता हुँदै : इरान युद्ध, ताइवान मामिला र व्यापार सम्झौता मुख्य मुद्दा



काठमाडौं । चीनको दुई दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच बेइजिङमा वार्ता हुँदै छ।

ट्रम्पको सम्मानमा चीनले एउटा रात्रिभोजको आयोजना गर्नुअघि दुई नेताबीच वार्ता हुने छ।

ट्यारिफ, प्रविधि क्षेत्रमा प्रतिस्पर्धा, इरान युद्ध र ताइवान मामिलालगायत विषय दुई शक्ति राष्ट्रबीच हुन लागेको वार्ताका सूचीमा रहेका बताइएको छ।

ट्रम्पको चीन भ्रमण मार्च महिनाका लागि तय भएको भए पनि इरान युद्धका कारण ढिलो हुन गएको हो। अमेरिकी राष्ट्रपतिले चीन भ्रमण गरेको झन्डै एक दशकपछि हो।

आफ्नो भ्रमणका क्रममा ट्रम्पले चीनलाई इरान युद्ध अन्त्य गराउन तेहरानमाथि दबाव दिन सक्ने ठानिएको छ। चीनले इरानमा उत्पादित सस्तो तेल किन्दै आएको छ।

बेइजिङले पनि उक्त द्वन्द्व टुङ्गियोस् भन्ने चाहेको छ। तेलको आपूर्ति सीमित हुँदा चिनियाँ सामान आयात गर्ने देशहरूको क्रयशक्ति घटेको बताइन्छ।

तर चीनमा भएका तेलखानी र अन्य स्रोतहरूबाट ऊर्जा आपूर्ति भएकाले चीनले युद्धका कारण परेको दुष्प्रभाव अरू देशको तुलनामा राम्ररी भरथेग गर्न सकेको ठानिन्छ।

बीबीसीकी एशिया व्यापार संवाददाता सुरञ्जना तिवारीका अनुसार गत अक्टोबरमा दुई देशबीचको व्यापार सम्झौताको विषय चीनका लागि प्रमुख मुद्दा हुने छ।

बेइजिङले अमेरिकाबाट आयात बढाउने सङ्केत गर्न सक्ने पनि अपेक्षा गरिएको छ। त्यसमा बोइङ हवाईजहाज, बीफ, सोया ९बीन० खरिदका साथै भविष्यमा व्यापार बढाउनका निम्ति लगानी बोर्ड तथा व्यापार बोर्ड गठनको विषय पर्ने ठानिएको छ।

बेइजिङले ट्यारिफ, प्रविधि र ताइवानमा केन्द्रित हुने गरी वार्ताको तयारी गरिरहेको छ। ताइवानलाई उसले आफ्नो भूभाग बताउँदै आएको छ।

प्रविधि र आपूर्ति प्रणाली पेचिलो मुद्दा रहिआएका छन्। अमेरिकाले चिप्स तथा चिप्स निर्माण उपकरणमाथि लगाइएका अवरोधहरू खुकुलो पारोस् भनी चीन चाहन्छ।

अर्कोतर्फ वाशिङ्टन सवारीसाधन तथा एरोस्पेसका लागि महत्त्वपूर्ण दुर्लभ धातुहरूको अझ स्थिर प्रवाह होओस् भनी चाहन्छ।

बीबीसीको रिपोर्टमा आधारित

प्रकाशित मिति : बैशाख ३१, २०८३ बिहीबार  १० : २३ बजे