काठमाडौं ।नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
पार्टी केन्द्रिय कार्यालय वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै शर्माले बदलिँदो समय र युवा पुस्ताको चाहना अनुरूप संविधानलाई गति दिनुपर्ने बताएका हून् ।
उनले भने, ‘अहिलेका युवाहरूको आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछिको स्थिति भयावह हुनसक्छ । अहिलेको ‘अल्फा जेनेरेसन’ वयस्क हुँदा फेरि नयाँ विमति र विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन । हामी फेरि आमाहरूको काख रित्तिएको र सिंहदरबार जलेको दृश्य हेर्न चाहँदैनौँ ।’
उपसभापति शर्माले वर्तमान समयमा उब्जिएका प्रश्न र अपेक्षाहरूलाई सही ढङ्गले निरूपण गर्न नसकिए आगामी दशकमा मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनी दिए ।
संविधान संशोधनको विषयलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाउनुपर्ने उनको तर्क छ । आवेग र आग्रहबाट मुक्त भएर नागरिक तथा युवा पुस्ताको भावनालाई केन्द्रमा राखी संविधान परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए ।














