काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा निवेदन दर्ता गर्न अस्वीकार गरेको विरोधमा आज दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको छ ।
सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानसँग भेटवार्ता गरेपछि बसेको बारको बैठकले सर्वोच्च अदालत प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भएको निष्कर्ष निकाल्दै विरोध कार्यक्रम घोषणा गरेको हो ।
बारका महासचिव केदार कोइरालाका अनुसार नेपाल बार परिसरमा कानुन व्यवसायीहरूको सहभागितामा न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्दै विरोध प्रदर्शन गरिनेछ ।
बारले सर्वोच्च अदालतमा दर्ता हुन आएका रिट निवेदनहरू प्रशासनले दर्ता नगरी दरपीठ गरेर फर्काएको भन्दै यसले न्याय प्राप्तिको मार्गमा अवरोध सिर्जना गरेको ठहर गरेको छ ।














