पाँचथरमा बाढीपहिरो :निर्माणाधीन दुई पुल बगायो, तीन जलविद्युत् आयोजनामा ठुलो क्षति



काठमाडौँ । अविरल वर्षापछि खसेको पहिरो र बाढीका कारण पाँचथरको याङवरक गाउँपालिका लगायतका क्षेत्रमा ठुलो भौतिक क्षति पुगेको छ। पहिरोले घर बगाउँदा तथा जोखिममा पारेपछि याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् भने थुप्रै घरहरू अझै पनि पहिरोको जोखिममा रहेका छन्।

अविरल वर्षासँगै आएको पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएका छन्। मोहनलाल र कबिरको परिवारका सात जना सदस्य आफन्त शान्ता खवासको घरमा तथा गङ्गाप्रसादको ६ जनाको परिवार उहाँका दाजु दुर्गा बेघाको घरमा आश्रय लिएर बसेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार सोही स्थानका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि सो परिवारका ६ जनालाई पनि विस्थापित गराई सुरक्षित स्थानमा सारिएको छ।

यसका साथै बाढीपहिरोका कारण कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङको घर जोखिममा परेको छ। त्यस्तै एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर पनि पहिरोको उच्च जोखिममा रहेको छ।

बाढीले लामिटारबाट चाम्लिङडाँडा जोड्ने र याङवरक–२ दोभानेस्थित दुईवटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ। यसका साथै बाढीले निर्माणाधीन दुईवटा ठुला सडक पुलहरू समेत बगाएको छ। पुष्पलाल ९मध्यपहाडी० राजमार्ग अन्तर्गत पाँचथरको याङवरक–२ दोभानेमा रहेको मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल, सडक र डाइभर्सन समेत बाढीले बगाएपछि यस क्षेत्रको यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी, तमोर करिडोर सडकअन्तर्गत पाँचथरको गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलका संरचनाहरू समेत बाढीले बगाएको छ। याक्थुङहाङ निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त पुलको ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन र फलामे पाइप लगायतका निर्माण सामग्री बाढीले बगाएको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिनुभयो। पहिरोका कारण पुष्पलाल ९मध्यपहाडी० राजमार्गको ओयाम बजार र रिजाल भिर खण्ड पनि पूर्ण रूपमा ठप्प भएको छ।

बाढी र पहिरोले यस क्षेत्रका महत्त्वपूर्ण जलविद्युत् आयोजनाहरूमा पनि ठुलो क्षति पुर्‍याएको छ। याङवरक–२ मेवाखोलामा रहेको हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजना, पाँचथर–ताप्लेजुङ सीमामा अवस्थित इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रको पर्खाल र काबेली खोलामा रहेको अरुण काबेली जलविद्युत् आयोजनामा बाढीले व्यापक क्षति पुर्‍याएको छ।

भौतिक संरचनाका अतिरिक्त याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर बाली नष्ट पारेको छ। बाढी र पहिरोका कारण स्थानीय क्षेत्रका टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना र मेची पहाडी खानेपानी योजनामा समेत व्यापक क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : जेष्ठ १०, २०८३ आईतबार  ९ : १२ बजे