काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै अध्यक्ष राईले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह गरेका हून् ।
सभामुखलाई सम्बोधन गर्दै राईले लामो समयदेखि आफूहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आए पनि सभामुखबाट प्रभावकारी ‘रुलिङ’ हुन नसकेकोमा असन्तुष्टि व्यक्त गरे ।
उनले सदनको गरिमा कायम राख्नका लागि प्रधानमन्त्रीलाई सदनमा ल्याउनुपर्ने, अन्यथा नियमावलीको नियम ३१ को उपनियम (१) प्रयोग गरी आफूलाई सदनबाट निष्कासन गर्न चुनौती दिए।
‘धेरै दिनदेखि प्रधानमन्त्रीको उपस्थिति माग गर्दै आएका छौँ। सभामुखले रुलिङ गर्न सक्नुभएन, नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई जवाफदेही बनाएर ल्याउन नसके ३१ को १ लागू प्रयोग गरेर मलाई आजको बैठकबाट निष्कासन गर्नुपर्यो। म आज रिसाउँदिन, कराउँदिन यहाँको मजबुरी बुझेको छु । कि प्रधानमन्त्रीलाई बोलाउनु पर्यो कि मलाई निस्केर जा भन्नुपर्यो’, राईले भने।
दुवै कुरा सभामुख अर्यालले नमानेपछि राईले संसद बैठक बहिष्कार गरेका छन्।














