काठमाडौं । अमेरिकी सार्वजनिक कुटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उनले दुई देशबीचको ७९ वर्ष लामो कुटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको बताएकी हून्।
उपविदेशमन्त्री रोजर्सले अमेरिकाले आफ्नो स्वतन्त्रताको २ सय ५० औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको शाहस र कौतुहलता रहेको बताइन् ।
अमेरिकाको जग नै अन्वेषण र जोखिम मोल्ने शाहसले बनेको बताउँदै उनले यही भावनाले अमेरिकीहरूलाई नेपालका हिमालहरूसम्म डोर्याउने गरेको उल्लेख गरिन् ।सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै उनले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताइन् ।
उनकाअनुसार यस वर्ष मात्र ६७ जना अमेरिकीले सगरमाथा आरोहणको प्रयास गरेका छन् ।














