प्रधानमन्त्रीको अभिव्यक्ति गलत रूपमा नबुझ्न सरकारको स्पष्टिकरण



काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ ।

गत आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री साहले नेपालले पनि भारतको भूमि मिचेको र दुई देशबीच बसेर समस्या समाधान गर्नुपर्ने बताएका थिए ।

सोही सन्दर्भमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफमा मंगलवार सिंहदरबारमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत–नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे आफू आश्चर्य भएको बारेमा कुरा राखेको भन्दै प्रधानमन्त्री साहको बचाउ गरे ।

‘प्रधानमन्त्रीज्युले के भन्नुभएको हो भने, सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्नेकुरा आउँदा आफू अचम्मित परेको बताउनुभएको हो। उहाँले सदनमा पनि यही प्रसङ्ग उल्लेख गर्नुभएको थियो। यस विषयमा परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको छ’ पोखरेलले भने।

प्रधानमन्त्रीको उक्त भनाइबारे परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेको र भूमिसम्बन्धी सीमा विवाद समाधानका लागि बनेको संयन्त्रका आधारमा प्रधानमन्त्रीले धारणा राखेको पोखरेलले दाबी गरे। सीमा समस्या समाधानका लागि कुटनीतिक नोट पठाइसकिएको र दुई देशबीच रहेका सीमा विवादहरू टेबल टकमार्फत समाधान गरिने उनले स्पष्ट पारे।

साथै, उनले प्रधानमन्त्रीको भनाइलाई गलत रूपमा नबुझ्न र त्यसको सन्दर्भलाई पुनः सुनेर बुझ्न सञ्चारकर्मीहरूलाई आग्रह गरे।

प्रकाशित मिति : जेष्ठ १९, २०८३ मंगलबार  २ : १४ बजे