काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’ को लहर धेरै समय नटिक्ने दाबी गरेका छन् ।
देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ (ग्रिन रिभोल्युसन) मात्रै अन्तिम र भरपर्दो विकल्प भएको उनले बताएका हून् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकमा भएका विगतका राजनीतिक परिवर्तनहरूलाई विभिन्न रङको क्रान्तिका रूपमा चित्रण गर्दै अध्यक्ष घिसिङले अबको आवश्यकता आर्थिक र वातावरणीय क्रान्ति भएको बताए ।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको स्पष्ट पारे । पार्टीको झण्डा हरियो हुनु र चुनाव चिह्न ‘चिम’ ले शक्तिको सञ्चार गर्नुले पनि यो अवधारणालाई पुष्टि गर्ने उनको तर्क छ ।
‘विगतमा विभिन्न क्रान्तिका नाममा अनेकौँ राजनीतिक परिवर्तन भए। कसैले त्यसलाई श्वेत क्रान्ति भने, कसैले रातो क्रान्ति। यदि १० वर्षे जनयुद्धपछिको परिवर्तनलाई रातो क्रान्ति भनेर नामकरण गर्ने हो भने, केही समयअघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अभियानलाई निलो क्रान्ति भनेर प्रस्तुत ग¥यो तर निलो क्रान्ति धेरै समय टिक्दैन,’ घिसिङले भने, ‘अन्तिम र दिगो क्रान्ति भनेको हरित क्रान्ति अर्थात् ग्रिन रिभोल्युसन हो।’














