काठमाडौं । नेपालले सिंगापुरमा भएको एसियाली खेलकुद छनोटको फाइनलमा हङकङलाई पराजित गर्दै च्याम्पियन बनेको छ ।
वर्षाले खेल रोकिएपछि नेपाल डकवर्थ लेविस स्टर्न पद्दतिका अनुसार नेपाल १९ रनले अघि रहेर उपाधि जित्न सफल भएको हो ।
१ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेटको नोक्सानीमा १ सय १४ रन बनाएको अवस्थामा बर्षाले खेल रोकिएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले फेरि एकपटक उत्कृष्ट प्रदर्शनका साथ अर्धशतक बनाए । ४० बलमा ८ चौका र ३ छक्कासहित उनले ६५ रन बनाए ।
अर्का ओपनर आसिफ शेख खाता नखोली आउट भएपछि कुशल र रोहित पौडेलले दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गरे। रोहित ३५ र एक सयौं टी-२० आई खेलिरहेका कप्तान दीपेन्द्र सिंह ऐरी ९ रनमा नटआउट रहँदा खेल रोकिएको थियो।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको छ। पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनाएका छ। नेपालका लागि शेर मल्ल ४, करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट लिए।
हङकङका लागि अंशुमन रथले ८०, सहिद वासिफले ५५, शिव माथुरले २६ रन बनाए । नेपाल र हङकङसहित ओमान र मलेसिया पनि यसै वर्ष जापानमा हुने २० औं एसियाली खेलकुदका लागि छनोट भैसकेका छन्।














