राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा



काठमाडौं । विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै पार्टीकी सांसद खुश्बु ओलीले अर्थमन्त्री वाग्लेको राजीनामा माग गरेको हो ।

करका दरमा गरेको संशोधनलाई लिएर गम्भीर प्रश्न उठाउँदै उहाँ निष्पक्ष छानबिन नहुँदासम्म वाग्लेले नैतिकताको आधारमा पदबाट अलग रहनुपर्ने बताईन् ।

उनले भनिन्, ‘करका दरमा गरेको संशोधनको विषय यति गम्भीर भएको छ कि यस विषयमा निष्पक्ष र विश्वसनीय छानबिन अपरिहार्य भएको छ। त्यसैले छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नै विवेक प्रयोग गरेर सुशासन कायम गर्नको लागि नैतिकता र निष्पक्षताको हिसाबले आफ्नो जिम्मेवारीबाट पर रहनुपर्छ जस्तो लाग्छ।’

करका दरमा भएको संशोधनको विषयमा निष्पक्ष छानविन गरी सुशासनको मानक स्थापना गर्न समेत ओलीले सरकारको ध्यानाकर्षण गराईन् ।

प्रकाशित मिति : जेष्ठ २६, २०८३ मंगलबार  २ : १३ बजे