भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुट बोले : ज्ञानबहादुर शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भन्सारमा करछली प्रकरण तत्काल छानविन गर्न सरकारलाई दबाब दिएका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले ईभी गाडीहरुमा कर छली गर्ने काम अर्थमन्त्री स्वयमले गरेको जिकीर गर्दै तत्काल संसदीय छानविन समिति बनाएर त्यसको छानविन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरे ।

नेता शाहीले उक्त प्रकरणमा अर्थमन्त्री वाग्ले संसदीय समितिमा समेत झुट बोलेको आरोप समेत लगाए ।

नेता शाहीले गाडी नभित्रयाउँदै त्यसको जाँचपास कुरा कसरी भयो ? भनि सरकारलाई प्रश्न समेत गरे। उनले गत वर्ष पनि केही गाडीहरुमा भन्सार छुट दिएको कुरा छानविन गरी राजस्व असुली गर्न महालेखा परीक्षकको प्रतिवेदनले सरकारलाई निर्देशन दिएको पनि त्यसको कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उनले महालेखा परीक्षकको प्रतिवेदन उद्धृत गर्दै तातोपानी, कोरोला र रसुवागढी नाकाबाट आयात गरिएका ईभी गाडीको मोटर क्षमतासम्बन्धी विवरणमा हेरफेर गरी कर छुट दिइएको उल्लेख गर्नुभयो। प्रतिवेदनअनुसार ती नाकामार्फत मात्रै २ अर्ब ५० करोड ८३ लाख १६ हजार रुपैयाँ बराबरको राजस्व छुट भएको र देशभर कुल ३ अर्ब ७७ करोड ४४ लाख १९ हजार रुपैयाँ कर तथा महसुल छुटबारे छानबिन गरी असुलउपर गर्नुपर्ने उल्लेख गरिएको उनको भनाइ थियो।

शाहीले महिनाको पहिलो १४ दिनभित्र हजारौं सवारीसाधन आयात भएको र गाडी नेपाल आइपुग्नुअघि नै भन्सार पास भएको देखिने अवस्थाले गम्भीर प्रश्न उठाएको बताए।

प्रकाशित मिति : जेष्ठ २८, २०८३ बिहीबार  १२ : ०० बजे