मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासो



काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त भएको गुनासो गरेका छन् ।

बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हून् ।

उनले प्रभावकारी कार्यसम्पादनका लागि बजेट वृद्धि गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री गुरुङले सुशासन कायम गर्न, विपद् व्यवस्थापन तथा लागुऔषध नियन्त्रण जस्ता गम्भीर विषयमा काम गर्न मन्त्रालयलाई स्रोतको अभाव रहेको उल्लेख गरे । मन्त्री गुरुङले बजेटको सिलिङभन्दा २० अर्ब रुपैयाँ थप ल्याउन आफूले धेरै मेहनत गरेको भएपनि त्यो अझै पर्याप्त नभएको बताए ।

उनले भने,‘मन्त्रालयसँग बजेटको अभाव छ । हामीलाई चुनौतीपूर्ण काममा पठाइएको छ तर साधनस्रोत भने अत्यन्तै न्युन छ । संसद्मा माननीयज्यूहरूले गृह मन्त्रालयको बजेट वृद्धिका लागि आवाज उठाइदिनुभयो भने हाम्रा निकायहरूले अझ प्रभावकारी रूपमा काम गर्न सक्नेछन् ।’

यस्तै, लागुऔषध नियन्त्रणका लागि हालसम्म अपनाइएका शैलीहरू प्रभावकारी नभएको भन्दै उनले नयाँ सुधार योजना ल्याउनुपर्ने आवश्यकता औँल्याए । विशेषगरी सीमा नाकाहरूबाट हुने लागुऔषध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा बल ‘एसएसबी’ सँगको समन्वयमा ‘संयुक्त अपरेसन’ सञ्चालन गरी स्रोत नै बन्द गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति : जेष्ठ २८, २०८३ बिहीबार  १ : ०८ बजे