देशलाई माया गर्दा दैनिक गाली खाइरहेको छु : हर्कराज राई



काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९हर्क साम्पाङ० ले देशलाई बिछट्टै माया गरेकै कारण आफूले दुनियाँभरका मान्छेबाट गाली र अपमान सहनुपरेको गुनासो गरेका छन्। शनिबार काठमाडौँमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले देशको हितका लागि निरन्तर आवाज उठाउँदा आफू सामाजिक सञ्जालमा सङ्गठित रूपमै तिरस्कारको सिकार भइरहेको बताए।

उनले आफू धरानको मेयर हुँदा दैनिक करिब एक हजार वटा गाली पाउने गरेको स्मरण गर्दै हाल त्यो सङ्ख्या बढेर दैनिक १० हजार पुगेको उल्लेख गरे। दार्चुलामा महाकाली नदीमाथि तुइन विस्थापनका लागि झोलुङ्गे पुल बनाउने क्रममा पनि आफूलाई व्यापक रूपमा गाली गरिएको भन्दै उनले सामाजिक सञ्जालमा आफूविरुद्ध योजनाबद्ध रूपमा गाली अभियान सञ्चालन भइरहेको आशङ्का व्यक्त गरे।

नेपाली समाजमा अरूले गरेको राम्रो कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने निकृष्ट प्रवृत्ति रहेको टिप्पणी गर्दै अध्यक्ष राईले यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने स्पष्ट पारे। आफू काम नगर्ने र अरूलाई पनि गर्न नदिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।

अध्यक्ष हर्कराज राईले भनेस् ‘संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला। मैले किन गाली खाइराख्नु परेको छ भन्दाखेरि म यो देशलाई बिछट्टै माया गर्छु। मलाई गाली गर्ने ती सम्पूर्ण महानुभाव, विद्वान् र बौद्धिक मित्रहरूलाई मेरो हार्दिक सम्मान छ। तपाईंहरू मेरो खुट्टा तानिरहनुस्, म आफ्नो बाटो हिँडिरहन्छु, अन्ततः जित मेरै हुनेछ। दार्चुलामा पुल थाप्न जाँदा थुप्रैले खुट्टा ताने, तर हामीले पुलको लट्ठा तानेर अब १०–१५ दिनमा उद्घाटन गर्ने अवस्थामा पुर्‍याएका छौँ। यदि गाली गर्नु नै तपाईंहरूको पेसा हो भने एउटा गाली कम्पनी खोल्नुस्, त्यसको चेयरम्यान बन्नुस्, तर त्यो कम्पनीको उद्घाटन चाहिँ मेरै हातबाट रिबन काटेर गराउनुस्।’

अध्यक्ष राईले प्रधानमन्त्री वालेन्द्र साहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको गम्भीर आरोप समेत लगाए। उनले देशको सिमाना सुस्तामा भारतीय सेना आएर हतियार देखाउँदै अतिक्रमण गर्न थालेको दाबी गर्दै त्यहाँ तत्काल नेपाली सेना र सुरक्षाकर्मी पठाउनुपर्ने माग गरे। सीमा सुरक्षाका विषयमा राज्य संवेनशील हुनुपर्नेमा जोड दिँदै उनले संसद्को रोस्ट्रममा उभिएर जनतालाई उत्तर दिनु प्रधानमन्त्रीको दायित्व भएको बताए।

प्रकाशित मिति : जेष्ठ ३०, २०८३ शनिबार  ९ : ३३ बजे