संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग



काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको सीमासम्बन्धी पछिल्लो अभिव्यक्ति राष्ट्रहित विपरित रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक दुलालले उक्त विषयमा सभामुखको रुलिङ र प्रधानमन्त्रीको स्पष्टीकरण आवश्यक रहेको बताए ।

सम्बोधनका क्रममा दुलालले दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको भनिएको समाचारप्रति सरकारको आधिकारिक जवाफ माग गरे ।

भारतीय सुरक्षा निकायका उच्च पदाधिकारी सवार हेलिकोप्टर नेपाली भूमिमा अवतरण हुनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले यसबारे यथार्थ जानकारी गराउन सरकारसँग माग गरे ।

उहाँले पूर्वी नेपालको इलाममा चिया उद्योगले भोग्नुपरेको संकटप्रति पनि सदनको ध्यानाकर्षण गराउ । भारतीय अवरोधका कारण इलामको प्रसिद्ध चिया उद्योग बन्द हुने अवस्थामा पुगेको र त्यसबाट किसान तथा व्यवसायीहरू ठूलो पीडामा रहेको उनले बताए ।

उनले भने, ‘भारतीय अवरोधले उद्योगधन्दा र रोजगारी बन्द हुने स्थिति सिर्जना भएको छ, यसतर्फ सरकारको ध्यान किन जान सकेको छैन ?’

प्रकाशित मिति : असार १, २०८३ सोमबार  ११ : ५९ बजे