वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट



वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित २०औँ नगर अधिवेशनमा ४ अर्ब ४२ करोड ३४ लाख ६८ हजार रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरिएको छ।

चालु आर्थिक वर्षका लागि महानगरपालिकाले १९औँ नगर अधिवेशनमार्फत तीन अर्ब ६९ करोड १२ लाख ४६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थियो।

कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न नगर अधिवेशनमा वडा नं। ४ का अध्यक्ष जगत साह कानुले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ५४।३ प्रतिशत, पुँजीगततर्फ ४४।६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ १।१ प्रतिशत बजेट विनियोजन गरिएको जानकारी दिए।

उनका अनुसार चालुतर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले चालु आर्थिक वर्षमा हालसम्म ५८।५ प्रतिशत बजेट खर्च भएको तथा आर्थिक वर्षको अन्त्यसम्ममा ६५ प्रतिशत खर्च हुने अनुमान रहेको जानकारी दिए।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटका प्रमुख स्रोतहरूमा संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यवस्थापन गरिने जानकारी दिइयो।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणलाई प्राथमिकता दिइएको छ। साथै, स्वरोजगार प्रवर्द्धन, सहर सौन्दर्यीकरण तथा जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरणका लागि विभिन्न कार्यक्रम र योजनाहरू समावेश गरिएका छन्।

कार्यक्रममा कार्यवाहक नगरप्रमुख आलमले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरसफाइ, फोहोर व्यवस्थापन, स्वास्थ्य तथा शिक्षालाई विशेष प्राथमिकता दिइएको बताए।

उनले खानेपानी संकट समाधान, सिर्सिया खोलाको व्यवस्थापन, पूर्वाधार विकासलाई तीव्रता तथा पर्यटन प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिए। महानगरलाई व्यवस्थित, स्वच्छ र दिगो विकासको मार्गमा अघि बढाउने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको उनको भनाइ थियो।

प्रकाशित मिति : असार १०, २०८३ बुधबार  ७ : ३९ बजे