काठमाडौं,असार ११ । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि ठूलो क्षति भएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण ‘यूएसजीएस’ ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ ।
स्रोतका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो । दुवै भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको बताइएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक मूल्याङ्कनअनुसार १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ३० प्रतिशत रहेको जनाइएको छ । अहिले यो समाचार तयार पार्दा क्षतिको विवरण आइसकेको छैन ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै संकटकालको घोषणा गरेकी छन् । सम्बोधनका क्रममा उनीसँगै गृहमन्त्री र नेसनल एसेम्बलीका प्रमुख एवं उनका भाइ जर्ज रोड्रिगेज पनि उपस्थित थिए ।
भूकम्पका कारण सो क्षेत्रमा क्षती पुगेको तथा केही संरचना पूणरुपमा भत्किएका छन ।
अहिले भने भत्किएको तथा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको स्रोतले जानकारी दिएको छ ।














