काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेजीको एजेन्डा लिए त्यो ठूलो भूल हुने चेतावनी दिएका छन् ।
रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र संघीयता भत्काउने निर्णय गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै डा. भट्टराईले प्रदेशसभा खारेजीको एजेन्डा छोडेर सुशासन र विकासमा केन्द्रित हुन सुझाव दिएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नयॉं सत्तासीन दल रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले संघीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठूलो भूल हुनेछ। विधिको हिसाबले एकातिर आफ्नै नेतृत्वको सकारले ुसंविधान संशोधन बहसपत्रु तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू, विभिन्न जातिहरू र आम जनसमुदाय वीचमा ठूलो विश्वासको संकट पैदा हुनेछ र त्यसले देशलाई अनिष्टतिर धकेल्नसक्छ।’
उनले थप भनेका छन्– ‘हाम्रो जस्तो जातीय राष्ट्रिय र क्षेत्रीय विविधतायुक्त मुलुकमा लामो बलिदानपूर्ण सङ्घर्षपछि निर्वाचित संविधानसभाबाट अधिकतम सहमतिसहित गरिएको पुरानो एकात्मक राज्यको सङ्घीय पुनर्संरचना जानेर नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय–क्षेत्रीय द्वन्द्व र अशान्ति सिर्जना गर्नेछ। जुन कसैको पनि हितमा हुनेछैन। त्यसैले ‘नदुखेको कपाल डोरी लगाएर दुखाउन’ सट्टा संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासन र विकास तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। जो मर्जी!’














