काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ ।
महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार शुक्रबार र शनिबार पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको सम्भावना रहेको बताएको हो ।
हाल कोशी, मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग तथा गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ ।
भोलि शुक्रबार र पर्सी शनिबार देशका हिमाली र पहाडी भूभागका साथै कोशी र मधेस प्रदेशमा साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्कसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।
भोलि र पर्सी सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा लुम्बिनीको तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।














