विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा मुद्दाको सक्कल फाइल झिकाउन आदेश



काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल जोडिएको सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुद्दाको सम्पूर्ण सक्कल मिसिल नै अदालतमा पेश गर्न आदेश दिएको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।

राजनीतिक वृत्तमा प्रभावशाली छवि बनाएका पूर्वअर्थमन्त्री पौडेललाई असार ८ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सुर्खेतबाट नियन्त्रणमा लिएको थियो । उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र सोको शुद्धीकरणमा संलग्न रहेको गम्भीर आरोपमा अनुसन्धान भइरहेको छ ।

हिरासतमा राखिएका पौडेललाई न्यायिक हिरासतमा राखी अनुसन्धान अघि बढाउन सोमबार मात्रै विशेष अदालत, काठमाडौँले असार १७ गतेसम्मका लागि थुनामा राख्ने अनुमति दिएको थियो ।

प्रकाशित मिति : असार १६, २०८३ मंगलबार  ६ : १२ बजे