काठमाडौं । सर्वोच्च अदालतमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ हुने भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलको रिटमाथि बिहीबार न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुन लागेको हो।
पौडेलकी पत्नी दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै गत असार १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।
यसअघि सर्वोच्च अदालतले विशेष अदालतमा विचाराधीन नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल फाइल झिकाउन आदेश दिएको थियो। साथै, उच्च अदालत पाटनमा रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दा, काठमाडौं जिल्ला अदालतमा विचाराधीन बिमा कसुर तथा सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेका धितोपत्र (सेयर) सम्बन्धी दुई छुट्टाछुट्टै मुद्दाका सक्कल फाइल पनि मगाउन आदेश दिएको थियो।
पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।














