पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका पाँचथरका रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
फाल्गुनन्द गाउँपालिका–७ डोबाटेका पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिए।
प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। युट्युबमा आपत्तिजनक सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेपछि उनको गिरफ्तारीको विषयमा देशभर विरोध भएको थियो। विरोध चर्किएपछि प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो।
तर, प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि न्यायाधीश कुमार मास्केको इजलासले पोखरेललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।














