सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजना: प्रधानमन्त्री



काठमाडौँ, असार २३ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले आज एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा सो धारणा राखेका हून् ।

त्यस अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभावकारिता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्द्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढाउनेबारे पनि अध्यक्ष कान्डालाई जानकारी गराएका थिए ।

उनले स्थिर नीतिगत वातावरण र सुदृढ संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने आधार भएको विश्वास समेत व्यक्त गरे ।

उक्त भेटवार्तामा एडिबी साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए ।

सो अवसरमा नेपालमा जलविद्युत्को ठूलो सम्भावना रहेको उल्लेख गर्दै एडिबीको ऊर्जा रणनीतिअन्तर्गत स्वच्छ ऊर्जा उत्पादनमा साझेदारलाई जोड दिइएको थियो ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले एडिबीको सहयोगमा निर्माणाधीन दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना नेपाल सरकारको प्राथमिकता प्राप्त आयोजना भएको र दीर्घकालीन ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । यसको वित्तीय व्यवस्थापन प्रक्रिया यथाशीघ्र सुरु गरिदिन पनि प्रधानमन्त्रीले जोड दिए ।

भेटवार्ताका क्रममा एडिबीको ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी’अन्तर्गत विशेषगरी ऊर्जा, कनेक्टिभिटी, सहरी विकास तथा डिजिटल पूर्वाधारका क्षेत्रमा थप सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री शाहले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट विगत पाँच दशकभन्दा बढी समयदेखि नेपालको विकास यात्रामा एडिबीले निरन्तर रूपमा पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा सहयोगको अपेक्षा गरे ।

मुलुकको ठूलो विकास साझेदार रहेको एडिबीको हाल नेपालमा सक्रिय खुद ‘पोर्टफोलियो’ करिब चार अर्ब २० करोड अमेरिकी डलर बराबरको रहेको छ । यसबाट ३१ वटा परियोजना सञ्चालनमा रहेका छन् ।

एडिबीबाट ‘पोलिसी बेस्ड लेन्डिङ’ अन्तर्गत सन् २०२६ मा १५ करोड अमेरिकी डलरको सहायता कार्यक्रम रहेको छ ।

यसअन्तर्गत मुख्यतया खानेपानी, सरसफाइ, सहरी पूर्वाधार विकास, युवा रोजगारी प्रवर्द्धन, विपद् जोखिम व्यवस्थापन, डिजिटल सुशासन र सहकार्यको प्राथमिकताका क्षेत्रमा पनि त्यस अवसरमा छलफल केन्द्रित रहेको थियो ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दाहालका अनुसार भेटवार्ताका अवसरमा नेपालको डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धि र रोजगारीको नयाँ आधारका रूपमा विकास भइरहेकामा सन्तोष व्यक्त गर्दै डिजिटल पूर्वाधार तथा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरणमा एडिबीको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको थियो । रासस

प्रकाशित मिति : असार २३, २०८३ मंगलबार  १ : ३६ बजे