काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको चर्को आलोचना गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वालेन्द्र शाह (बालेन)लाई प्रश्न गर्न नपाइने वातावरण बनाउन खोजेको आरोप लगाए । उनले बालेनलाई व्यंग्यात्मक रूपमा ‘श्री ८’ को संज्ञा पनि दिए ।
राईले भने, ‘सरकारले श्री ८ बालेन्द्रलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजेको छ । देशमा रहेको संविधान र कानुनी परिधिभित्र रहेर उठ्ने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भन्ने चेतावनी नागरिकलाई यो सरकारले दिइरहेको छ ।’
राईले सरकारको कार्यशैली अधिनायकवादी शासनतर्फ उन्मुख भएको संकेत गर्दै नागरिकको मुख थुन्ने प्रयास भइरहेको बताए । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको उनको आरोप छ ।
वर्तमान सरकार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हिँड्न खोजेको र नागरिक अधिकारमाथि प्रहार गर्न उद्धत रहेको राईको आरोप छ ।














