सुकुम्बासी बस्तीमा डोजर चलाउँदा ९ जनाको ज्यान गयो: सांसद गुरुङ



काठमाडौँ । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जनाको ज्यान गएको बताएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद गुरुङले सरकारको अव्यवहारिक नीतिका कारण उनीहरुले ज्यान गुमाउनुपरेको आरोप लगााइन् ।

गुरुङले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले पर्याप्त तयारी नगरेको दाबी गर्दै विस्थापितहरूलाई डुबानको जोखिम रहेको क्षेत्रमा नै स्थानान्तरण गरिएको विषयमा प्रश्न उठाइन् । उनले सुकुम्बासी व्यवस्थापनमा सरकार संवेदनशील हुन नसकेको आरोप लगाउँदै यसका कारण विभिन्न नागरिकले ज्यान गुमाएको उल्लेख गरिन् । मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग पनि गरिन् ।

उनले राज्यको गलत नीतिका कारण ज्यान गुमाउनेहरूमा १८ वर्षका रविन तामाङ, ५७ वर्षीय इन्द्रबहादुर राई, ५० वर्षीया कमला बलम्पाकी, ६८ वर्षीय कर्णबहादुर श्रेष्ठ, ३६ वर्षीय भेषराज दर्जी, ६६ वर्षीया पार्वती विक, ३९ वर्षीया सुशीला थापामगर, ७५ वर्षीया रटनदेवी मलाहानी र १८ महिनाका नाबालक उज्ज्वल तामाङ रहेको जानकारी उनले दिइन् ।

सांसद गुरुङले सुकुम्बासी बस्ती हटाइएपछि भएका आत्महत्याका घटनाप्रति सरकार जिम्मेवार हुनुपर्ने धारणा राखिन् । उनले आत्महत्याका घटनालाई राज्यको असफल नीतिको परिणाम भएको बताउँदै प्रभावित परिवारको संरक्षण र राहतमा सरकार गम्भीर हुनुपर्ने माग गरिन् ।

प्रकाशित मिति : असार ३१, २०८३ बुधबार  २ : ०६ बजे