रौतहट, असार ३२ । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ ।
बाराको निजगढस्थित नगर उद्योग वाणिज्य संघको सभाहलमा मध्याह्न १२ बजे बस्ने यो बैठकलाई दुवै पक्षले ’निर्णायक’ रूपमा लिएका छन् ।
यसअघि मंगलबार र बुधबार दैनिक करिब पाँच–पाँच घण्टा चलेका पहिलो र दोस्रो चरणका वार्ताहरू विना निष्कर्ष टुङ्गिएपछि आजको छलफलमा सबैको ध्यान केन्द्रित भएको छ ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको नेतृत्वमा पीडितहरूले गत असार २५ गते धनुषाको जनकपुरस्थित ऐतिहासिक तिरहुतिया गाछीबाट काठमाडौंतर्फ ‘पैदल मार्च’ (न्याय यात्रा) सुरु गरेका थिए।
चर्को घाम र वर्षाको पर्वाह नगरी न्यायको खोजीमा हिँडेका पीडितहरूको गुनासो सुन्न र आन्दोलनलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङ आफैं बाराको निजगढ आइपुगेका हुन् ।
आन्दोलनकारीहरूले गृह प्रशासनसमक्ष आफ्ना समस्या समाधानका लागि स्पष्ट खाकासहित छ बुँदे माग अघि सारेका छन् ।
उनीहरू फर्जी लिखत खारेज, मिटरब्याजविरुद्ध शक्तिशाली विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठन, साहु–महाजनको सम्पत्तिको छानबिन, पीडितको सम्पत्ति फिर्ता तथा न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर्नुपर्ने लगायतका छ बुँदे माग गृहमन्त्रीसमक्ष राखेका छन् ।
विगत दुई दिनका वार्ताहरूमा मागका प्राविधिक र कानुनी जटिलतामाथि विस्तृत छलफल भएको बुझिएको छ ।
आन्दोलनकारीका प्रतिनिधिहरूले राज्यले ठोस र कार्यान्वयनयोग्य प्रतिबद्धता नजनाएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन् भने सरकारी पक्षले कानुनसम्मत ढङ्गले समस्या समाधान गर्न गृहकार्य भइरहेको बताएको छ ।
आज मध्याह्न १२ बजे सुरु हुने तेस्रो चरणको वार्ताले मिटरब्याज पीडितहरूको यो लामो र कष्टकर सङ्घर्षलाई कसरी तार्किक निष्कर्षमा पुर्याउँछ भन्ने कुरा निर्धारण गर्नेछ । देशभरका हजारौं मिटरब्याज पीडितहरू अहिले निजगढको यो वार्तालाई निकै चासोका साथ हेरिरहेका छन् ।














