काठमाडौं । बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ठगीको कसुरमा उनीहरुमाथि मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकाहरूमा बाल मन्दिरका तत्कालीन योजना प्रमुख एवं हाल काठमाडौँ महानगरपालिका वडा नं. ११ की सदस्य आशा श्रेष्ठ, काठमाडौँ जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य रहेका छन् । यी तीनै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसैगरी फरार रहेका युरी कुमारी राई तत्कालीन सभापति, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य र तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरुद्ध पनि मुद्दा दायर भएको छ ।
प्रतिवादी बनाइएका ८ जना मध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य मात्रै पक्राउ गरेका छन् । बाँकी पाँच जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।














