काठमाडौं,०८ साउन । अघिल्लो दिन १४.१७ अंक बढेको सेयर बजार शुक्रबार ७.९० अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७३४ अंकमा कायम भएको छ । आज बजारको वृद्धिमा बैंकिङको सबैभन्दा महत्त्वपूर्ण योगदान रह्यो । नेप्सेको आजको अंक गत जेठ २७ यताकै उच्च हो ।
दिउँसो ११ : ४६ बजे नेप्से परिसूचक २७४७ अंकसम्म पुगेको थियो, जुन अंक दिनभरको लागि अधिकतम रह्यो । त्यसपछि अन्तिमसम्म नै बजारको वृद्धि सुस्तायो । आज १४३ कम्पनीको मूल्य बढ्दा ११८ को घटेको छ भने १५ को स्थिर रह्यो ।
कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ६ अर्ब २६ करोडको भयो । सबैभन्दा शक्तिशाली समूह बैंकिङले आज बजारको वृद्धिलाई ठूलो योगदान दियो । नेप्से जम्मा ०.२८ प्रतिशत बढ्दा बैंकिङ समूह सबैभन्दा धेरै १.१७ प्रतिशत बढ्यो । १ प्रतिशतभन्दा धेरै बढ्ने समूह बैंकिङ मात्रै रह्यो ।
त्यस्तै विकास बैंक ०.९६, होटल तथा पर्यटन ०.४२, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.०२, प्रतिशत बढे । व्यापार ०.३५, अन्य ०.२६, उत्पादन तथा प्रशोधन ०.५९, जलविद्युत् ०.(१२ तथा फाइनान्स ०.१५ प्रतिशत घटे ।














