काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा दुई समूहबीच भएको विवाद र त्यसपछि उत्पन्न तनावबारे छानबिन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा उक्त छानबिन समिति गठन गरिएको हो।
घटनाका सम्बन्धमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग आपत्कालीन छलफलसमेत गरेका छन्। बैठकमा सुरक्षा अवस्था र सम्भावित जोखिमबारे समीक्षा गरिएको थियो।
गृह मन्त्रालयका अनुसार छानबिन समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न एक हप्ताको म्याद दिइएको छ। समितिले घटनास्थलको वस्तुस्थिति, प्रहरीले चलाएको गोली र त्यसको परिस्थिति लगायतका विषयमा अध्ययन गर्नेछ।
कप्तानगन्जमा दुई पक्षबीच चर्किएको विवादले उग्र रूप लिएपछि परिस्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको थियो। प्रहरीको गोली लागेर एक जनाको ज्यान गएपछि स्थिति झनै तनावग्रस्त बनेको छ।














