काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय, विराटनगरमार्फत घटनाको प्रारम्भिक अनुगमन सम्पन्न भइसकेको र मानव अधिकारको दृष्टिकोणबाट विस्तृत अनुसन्धान अघि बढाइएको जानकारी दिएको हो।
आयोगका अनुसार पोलमा झण्डा राख्ने विषयबाट सुरु भएको विवाद बोलबम यात्राका क्रममा डिजे बजाउने विषयसँगै उग्र बन्दै दुई पक्षबीच ढुङ्गामुढा र तोडफोडमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको आयोगले जनाएको छ। घटनापछि विभिन्न स्थानमा टायर बालेर प्रदर्शन हुनुका साथै आन्दोलनकारीहरू लाठी र रडसहित सडकमा उत्रिएपछि सुरक्षा अवस्था चुनौतीपूर्ण बनेको आयोगको भनाइ छ।
आयोगले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, अस्पताल प्रशासन तथा स्थानीय सरोकारवालासँग घटनाबारे निरन्तर जानकारी लिइरहेको जनाएको छ। आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।
साथै, आयोगले राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी र सर्वसाधारणलाई संयमित रहन तथा सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै संवाद र सहकार्यबाट विवादको शान्तिपूर्ण समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ।














