काठमाडौं । नेकपा (एमाले) की संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै नेता अर्यालले सुनसरीमा हालै भएको दुःखद् घटनालाई लिएर सरकार र विशेषगरी प्रधानमन्त्रीको आलोचना गरिन्।
उनले भनिन्, ‘काठमाडौंमा गोली चल्दा र मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेहिता लिनुपर्छ भन्नेहरू आज सुनसरीमा नागरिकको ज्यान जाँदा किन मौन हुनुहुन्छ ? प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि मात्र होइन । देशमा अशान्ति हुँदा र जनता पीडामा पर्दा नेतृत्वले जनताको बीचमा गएर संवाद गर्नुपर्छ । हाम्रा पूर्खाको बलिदानले जोगिएको यो देशको विरासत कमजोर बनाउने हक कसैलाई छैन । दुई महिनादेखि हामीले प्रश्न उठाइरहेका छौँ, तर प्रधानमन्त्रीबाट अझै चित्तबुझ्दो जवाफ आएको छैन। संसद्मा बोलिएका आपत्तिजनक बोलीहरू सच्याइनुपर्छ ।’
साउन १० गते सुनसरीमा भएको हिंसात्मक झडप र मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै अर्यालले दङ्गा नियन्त्रण दमनबाट नभइ संवाद र विश्वासबाट गरिनुपर्ने बताइन् । तर राज्यले संयमता अपनाउनुको सट्टा त्रास सिर्जना गरेर स्थितिलाई थप उत्तेजित बनाउने काम गरेको आरोप लगाइन् ।














