काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षा निकायको भुमिकालाई लिएर प्रश्न उठाएका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै दाहालले सो घटनामा सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने स्थिति थियो वा थिएन भन्नेबारे विस्तृत अध्ययन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका हून् ।
सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा भएको झडपमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
संयोजक दाहालले भने, ‘त्यहाँ त्यो स्तरको गोली चलाउनैपर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य विकल्पहरूमा के कति पहल गरियो, यी सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्दछु ।’
उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दाहालले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरे । सो विवादले साम्प्रदायिक विद्वेषको रूप लिन सक्ने भन्दै उहाँले यसतर्फ उच्च शतर्कता अपनाउनुपर्नेमा जोड दिए ।














