करदाता प्रोत्साहन कार्यक्रम शुरुः २५० रुपैयाँको सामान किन्नेले पाए १० लाखको बम्पर उपहार



काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ औपचारिक रूपमा शुरु भएको छ ।

अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक विशेष कार्यक्रमका बीच साउन महिनाको पहिलो पाक्षिक अवधिका विजेताहरूको घोषणा गर्दै यस कार्यक्रमको शुभारम्भ गरिएको हो ।

वस्तु तथा सेवा खरिद–विक्रीमा बिल बिजक लिने र दिने संस्कारलाई प्रोत्साहित गरी अर्थतन्त्रलाई औपचारिकीकरण र पारदर्शी बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) लाई राजस्वको दिगो स्रोतका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको छ । आन्तरिक राजश्व विभागकाअनुसार २०८३ साउन १ गतेदेखि १५ गतेसम्मका १६ जना उपहार विजेताहरूको छनोट गरिएको छ ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित एक विशेष कार्यक्रमकाबीच साउन महिनाको पहिलो पाक्षिक अवधिका विजेताहरूको घोषणा गरिएको हो।अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बम्पर उपहार खुला गरेका थिए ।

आन्तरिक राजश्व विभागकाअनुसार २०८३ साउन १ गतेदेखि १५ गतेसम्मका १६ जना उपहार विजेताहरूको छनोट गरिएको छ। यसमा प्रत्येक दिनका एक–एक जना गरी १५ जना र साउनको पहिलो १५ दिनका लागि एक जना ‘बम्पर’ उपहार विजेता रहेका छन्। दैनिक विजेताले १ लाख १२ हजार ३७४ रुपैयाँ र बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था छ।

शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले साउन महिनाको १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार जितेको राजस्व विभागले जानकारी दिएको छ ।

विजेताहरूको छनोट ‘क्रिप्टोग्राफिकली सेक्युर्ड युनिफर्म र्‍याण्डम स्याम्पलिङ’ प्रविधिबाट गरिएको विभागले जनाएको छ। यो पूर्णतः कम्प्युटरकृत प्रणाली भएको र यसमा कुनै पनि मानवीय हस्तक्षेप वा विभेद नहुने भएकाले प्रक्रिया निष्पक्ष रहने आन्तरिक राजस्व विभागका महानिर्देशक भुसालले जानकारी दिए।

साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका उपभोक्ताका लागि शुक्रबार उपहार घोषणा गरिएको थियो ।

साउन १ देखि १५ गतेसम्मको अवधिमा उपभोक्ताहरूले गरेका ७ हजार ७७ वटा नगद कारोबारको विवरण विभागको वेबसाइटमा प्रविष्ट भएको छ, जसको कुल मूल्य ८ करोड २४ लाख रुपैयाँ रहेको छ। यसमा ३ हजार ९ सय १५ विक्रेता आवद्ध छन्।

त्यसैगरी, सोही अवधिमा अनलाइन भुक्तानीमार्फत २ करोड ५६ लाख ८ हजार भन्दा बढी कारोबार भएका छन्। अनलाइन भुक्तानीबाट हुने ७६ अर्ब ६० करोड ३ लाख रुपैयाँ बराबरको कारोबारलाई भने छुट्टै प्रविष्ट गरिरहनु नपर्ने र ती स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति : श्रावण २२, २०८३ शुक्रबार  ११ : ०१ बजे