प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना



काठमाडौँ । नेपाली काँग्रेसका सांसद भरतबहादुर स्वाँरले प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा समस्या र सरकारको फितलो कार्यसम्पादनलाई लिएर आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद स्वाँरले राष्ट्रिय सार्वभौमिकता, सुशासन र जनसरोकारका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका हून् ।

सांसद स्वाँरले प्रधानमन्त्रीले नै ‘नेपालले भारतको जग्गा मिचेको’ भनी दिएको भनिएको अभिव्यक्तिको विरोध गर्दै यसले राष्ट्रको स्वाभिमानमा चोट पु¥याएको उल्लेख गरे ।

भारतले लिम्पियाधुरा, कालापानी र सुस्ता लगायतका नेपाली भूभाग अतिक्रमण गरेको तथ्य जगजाहेर हुँदाहुँदै पनि प्रधानमन्त्री मूकदर्शक बनेको र उल्टै विवादास्पद अभिव्यक्ति दिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गरे । साथै, नयाँ जारी गरिएको चुच्चे नक्शा एक रुपैयाँको सिक्कामा नराखिएको विषयमा पनि उहाँले सरकारको नियतमाथि प्रश्न उठाए।

उनले भने, ‘सभामुखले पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्री सदनमा आएर जवाफ दिन तयार हुनुहुन्न । उहाँ कुन बाध्यताका कारण पन्छिरहनुभएको छ ? मैले व्यक्तिगत स्वार्थका लागि होइन, सुदूरपश्चिमका जनताका समस्या राख्न समय मागेको थिएँ । जनप्रतिनिधिलाई समय नदिनु समग्र सुदूरपश्चिमका जनतामाथिको अपमान हो ।’

प्रकाशित मिति : श्रावण २६, २०८३ मंगलबार  २ : १० बजे