काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।
सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले पार्टीको इतिहास निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा देउवाले पुर्याएको योगदानको उच्च सम्मान गर्दै पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्न उनले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
बैठकले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको मध्यरातमा भएको गिरफ्तारी, पत्रिकाको कार्यालयमा गरिएको खानतलासी तथा अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर पत्रकारलाई पक्राउ गर्ने र सञ्चारमाध्यममाथि पूर्वाग्रह एवं प्रतिशोधपूर्ण व्यवहार गर्ने कार्य स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रयास भएको कांग्रेसको निष्कर्ष छ।
त्यसैगरी सार्वजनिक लेखा समितिमा सत्तारुढ दलका सांसदहरूबाट भएको अमर्यादित तथा असंसदीय व्यवहारप्रति पनि कांग्रेसले असहमति जनाएको छ। संसद् र संसदीय समितिमा जनप्रतिनिधिको भाषा, शैली र व्यवहार उच्च मर्यादायुक्त हुनुपर्नेमा जोड दिँदै पार्टीले आफ्ना सांसदहरूलाई पनि सोहीअनुरूपको संसदीय मर्यादा कायम राख्न निर्देशन दिएको छ।
बैठकले रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबाडामा अविरल वर्षापछि गएको पहिरोमा परी भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले पीडित परिवारलाई राहत तथा पुनर्वासको व्यवस्था गर्न, घाइतेहरूको शीघ्र उपचार गर्न र बेपत्ताहरूको खोजी कार्य तीव्र पार्न सरकारसँग जोडदार माग गरेको छ। विभिन्न समसामयिक विषयमा भएको छलफलका क्रममा आजको बैठकमा १८ जना केन्द्रीय सदस्यहरूले आ(आफ्नो धारणा राखेका थिए।
प्रतिनिधि सभाको निर्वाचन छल्न विदेश उडेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि आज स्वदेश फर्केका छन् ।









