काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा सडक अवरुद्ध हुनुका साथै केही मुख्य सडकखण्डमा रात्रिकालीन समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्म जारी गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका सडकहरू प्रभावित भएका छन्। सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले केही मार्गहरूमा निश्चित समयका लागि आवागमन बन्द गरेको छ।
प्राप्त विवरणअनुसार काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा साँझ देखि बिहानसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने बाँकी समयमा सवारीसाधन चल्न दिइएको छ।
त्यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि राति सवारीसाधन चलाउन निषेध गरिएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा अर्को सूचना जारी नभएसम्मका लागि राति अत्यावश्यक सेवा बाहेकका अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ।
यसैगरी, पहिरो, हिलो र नदी कटानका कारण देशका अन्य केही राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ भने त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको कोदारीमा इकु पहिरो गएको र लिपिङमा सडक भासिएको कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।
रसुवाको उत्तरगया गाउँपालिकास्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ भने गोसाइकुण्ड गाउँपालिकाको स्याउपार्किङमा पहिरो खस्दा पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ। यसैगरी, रुकुम पश्चिममा भेरी करिडोर अन्तर्गतको जाजरकोट–डोल्पा सडक र लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत रामबजारमा पनि पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।
देशभरका विभिन्न सडकखण्डमा बाढी र पहिरोको उच्च जोखिम अझै कायम रहेकाले प्रहरी प्रधान कार्यालयले यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र निस्कन, उच्च सावधानी अपनाउन र आवश्यकताअनुसार वैकल्पिक मार्गको प्रयोग गर्न सम्पूर्ण यात्रु तथा चालकहरूलाई विशेष आग्रह गरेको छ।










