मौवाखोलादेखि गोलाघाटसम्म शव खोजी गर्न सुरक्षा निकाय परिचालन



चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका ६४ शव चितवनका त्रिशूली र नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि चितवनमा सम्भावित जोखिमको आँकलन गर्दै जिल्ला सुरक्षा समितिमार्फत पूर्वतयारी र सतर्कताका काम तीव्र पारिएको थियो । माथिल्लो तटीय क्षेत्रबाट नदीले बगाएर ल्याएका शव चितवनका त्रिशूली र नारायणी नदी किनारका विभिन्न स्थानमा फेला पर्नेक्रम जारी रहेको उनले जानकारी दिए । उद्धार तथा खोज कार्य जारी रहेकाले फेला पर्ने शवको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले फेला परेका शवको पहिचान, कानुनी प्रक्रिया र ससम्मान व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर सरकारी तथा निजी स्वास्थ्य संस्थासहित सम्बन्धित सबै निकायसँग समन्वय गरी एकीकृत रूपमा काम भइरहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका प्रत्येक शवको फोटोग्राफी, जिपिएस लोकेसन रेकर्ड, मुचुल्का तथा नम्बरिङ गरी शव ब्यागमा ट्याग लगाउने काम भइरहेको छ । त्यसपछि शवलाई जिल्ला अस्पतालको शवगृहमा स्थानान्तरण गरी पहिचानको प्रयास अघि बढाइएको उनले बताए ।

प्रहरी उपरीक्षक पौडेलले शवको पहिचान र व्यवस्थापनका लागि प्रहरीको जनशक्ति तथा उपलब्ध स्रोतसाधन पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिए । चितवनमा शववाहन पर्याप्त नभए पनि प्रहरीका सवारीसाधन र उपलब्ध स्रोतसाधन प्रयोग गरी शव व्यवस्थापनको काम भइरहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा अधिकतम ५० शव राख्न सक्ने क्षमता मात्र रहेकाले मर्चरीमा चाप परेको छ । त्यसैले जिल्ला सुरक्षा समितिको समन्वयमा सरकारी तथा निजी स्वास्थ्य संस्थाका उपलब्ध शवगृह, शव ब्याग, शीत भण्डारण र अन्य आवश्यक स्रोतसाधन परिचालन गरी शवको सुरक्षित संरक्षण, पहिचान र कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए ।

उनले भने, “अहिलेसम्म अस्पतालको मर्चरीमा शव राखिएको छ । थप शव आएमा व्यवस्थापनमा चुनौती हुन्छ । शवको सङ्ख्या बढेमा हामीले कोल्डस्टोरहरूसँग समन्वय गरेर राख्नुपर्ने हुन्छ ।”

प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको त्रिशूली नदीको मौवाखोला क्षेत्रदेखि नारायणी नदीको गोलाघाटसम्म शव खोजीका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए । उनका अनुसार खोज तथा उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा नदी तटीय क्षेत्रका बासिन्दालेसमेत खोजी कार्यमा सहयोग गरिरहेका छन् । उनले जिल्लाका उपलब्ध सबै सुरक्षा संयन्त्र खोज तथा व्यवस्थापन कार्यमा परिचालन गरिएको बताए ।

उनले भने, “त्रिशूली नदीको मौवाखोला क्षेत्रदेखि नारायणी नदीको गोलाघाटसम्म शव खोजीका लागि सुरक्षा निकाय परिचालन गरिएको छ । खोजी तथा व्यवस्थापन कार्यमा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीले समेत सहयोग गरिरहनुभएको छ ।”

बाढीले बगाएर ल्याएका ग्याँस, काठ, दाउरा वा अन्य सामग्री खोज्ने उद्देश्यले नदी किनारमा भीड नगर्न आग्रह गर्दै उनले त्यसो गरे कानुनबमोजिम कारबाही गरिने र सङ्कलन गरिएका सामग्रीसमेत जफत गरिने चेतावनी दिए ।

उनले बाढीमा फेला परेका शवका विभत्स तस्बिर तथा भिडियो सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा सम्प्रेषण नगर्न भन्दै त्यस्ता सामग्रीले सर्वसाधारणमा तनाव, त्रास र मनोवैज्ञानिक असर पार्नसक्ने भएकाले तस्बिर वा भिडियो सार्वजनिक नगरी नजिकको सुरक्षा निकायमा तत्काल सूचना दिन प्रशासनले आग्रह गरे।रासस

प्रकाशित मिति : भाद्र ११, २०८३ बिहीबार  १० : ३४ बजे