रसुवा बाढीबाट बेपत्ता भएकाको संख्या यकिन गर्न मुस्किल भइरहेको छ : प्राधिकरण



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ताहरूको यकिन तथ्यांक नरहेको जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपद्‌बाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताइन् । हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन भइरहेको उनको भनाइ छ ।

महतका अनुसार, सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता छन् । उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्ने उनले बताइन् ।

विभिन्न हाइड्रोपावर आयोजना तथा सुरुङबाट उद्धार जारी छ । महतका अनुसार, हाइड्रोको सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ । आइतबार चिनियाँ १५ र भारतीय ७ गरी थप २२ जनालाई हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो भने सोमबार पनि उद्धार जारी रहेको उनको भनाइ छ ।

लाङटाङ हाइड्रोमा भएको क्षतिसम्बन्धी पनि अहिलेसम्म छुट्टै विवरण प्राप्त नभएको उनले बताइन् । हालसम्म रसुवा बाढीमा परी ज्यान गुमाएका ९०३ जनाको शव फेला परेको छ । १० हजार बढीको उद्धार गरिएको छ भने २६७ जना घाइतेहरू उपचारपछि घर फर्किएका छन् ।

सम्पर्कविहीनहरुको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : भाद्र १५, २०८३ सोमबार  ४ : ४२ बजे