जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड



काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा आइपरेको महाविपद्को सामना गर्न सरकारले प्रभावकारी रूपमा जनपरिचालन गर्न नसकेको बताएका छन् ।

उद्धार र राहत कार्यमा नेपाली सेनाले जोखिम मोलेर प्रशंसनीय भुमिका निर्वाह गरे पनि सरकारले नागरिक समाज र आम जनतालाई विश्वासमा लिएर परिचालन गर्न नसकेको उनको टिप्पणी छ ।

संयोजक दाहालले केवल सेनाको परिचालनले मात्र समस्याको वास्तविक समाधान नहुने उल्लेख गरे । उहाँले संघीय, प्रादेशिक र स्थानीय सरकारका साथै जनप्रतिनिधिहरूबीच आवश्यक समन्वय हुन नसकेकोमा चासो व्यक्त गरे ।

उनले भने, ‘सेना परिचालन भए पनि जनपरिचालन हुन सकेन । जनपरिचालन नहुँदासम्म यस्ता महाविपत्तिको सामना गर्नु असम्भव जस्तै हुन्छ । मैले पटक–पटक सरकार र सम्बन्धित पक्षलाई सेना परिचालनसँगै जनपरिचालन जोड्न र तीनै तहका सरकारबीच समन्वय कायम गर्न आग्रह गर्दै आएको छु । अहिले आम मानिस र जनप्रतिनिधिहरूबाट सरकार उद्धार कार्यमा सफल होइन, असफल भयो भन्ने जनगुनासो व्यापक रूपमा सुनिएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको सम्बन्ध टुट्दा समस्या झन् जटिल बनेको छ ।’

प्रकाशित मिति : भाद्र १७, २०८३ बुधबार  ४ : ५३ बजे