काठमाडौँ, भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढिको पीडामा रहेका मानिसको आक्रोशलाई सरकारले संयमतापूर्वक सुन्ने बताएका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत धारणा राख्दै पीडामा रहेका मानिसको आक्रोश स्वाभाविक भएको भन्दै उनिहरुको
आक्रोशलाई सरकारले संयमतापूर्वक सुन्ने बताएका हुन् ।
“एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो”, उनले भनेका छन् ।
उनले यस्तो संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने चेतावनी समेत दिएका छन् ।
शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको उल्लेख गरेका छन् । शाहले भनेका छन् , “तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ।
बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनको कठिन मोडमा उनीहरूलाई कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।









