प्रधानमन्त्री बालेनलाई गगनको आग्रह– ‘राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रस्तुत हुनुस्’



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्यपरक र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई आग्रह गरेका छन् ।

आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा सीमित नगर्न सुझाव दिए । थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए ।

विशेषगरी भोटेकोशीमा आएको बाढी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालको न्युन हरित ग्यास उत्सर्जनका बावजुद भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए । प्रधानमन्त्रीलाई सुझाव दिँदै थापाले केवल आफ्नो सचिवालयको भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग परामर्श गर्न आग्रह गरे ।

उनले नेपालभित्र र बाहिर रहेका दक्ष जनशक्तिलाई परिचालन गरी नेपालको प्रश्तुतिलाई प्रभावकारी बनाउन सकिने सम्भावना रहेको बताए ।

सभापति थापाले भने, ‘हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ । नेपालले हानि र नोक्शानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ । यो भन्दा अगाडि पनि प्रधानमन्त्रीहरू महासभामा जानुभएको छ, हिमालदेखि महासागरसम्मका कुरा उठेका छन् । पूर्वप्रधानमन्त्रीको कार्यकालमा कोप–२८ मा भएका पहलहरू र अन्य अन्तर्राष्ट्रिय मञ्चमा उठाइएका क्लाइमेट जस्टिस’ का विषयहरूलाई निरन्तरता दिँदै अहिलेको तयारीलाई थप मजबुत बनाइनुपर्छ ।’

प्रकाशित मिति : भाद्र २१, २०८३ आईतबार  ७ : १६ बजे