बाढीले दुई पुल बगाएपछि मनास्लु पदमार्ग अवरुद्ध लार्केपास यात्रामा रोक



काठमाडौँ । बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण प्रसिद्ध मनास्लु पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलामा आज बिहान आएको बाढीले दुईवटा पुल र दुईवटा लघुजलविद्युत् आयोजना बगाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले पुल बगाएपछि जिल्ला प्रशासन कार्यालयले अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि मनास्लु पदमार्ग र लार्केपास यात्रामा पूर्ण रोक लगाएको छ। प्रशासनले यात्राको तयारीमा रहेका वा बाटोमा रहेका सबै देशी(विदेशी पर्यटक तथा यात्रुहरूलाई सुरक्षित स्थानमा रहन र अर्को सूचना जारी नभएसम्म यात्रा नगर्न आग्रह गरेको छ। बाढीबाट हालसम्म कुनै पनि मानवीय क्षति भने नभएको सहायक प्रजिअ शर्माले जानकारी दिएका छन्।

बाढीले गाउँ वारपार गर्ने पुलहरू बगाएपछि स्थानीय बासिन्दा र पर्यटकहरू ठूलो संकटमा परेका छन्। नाम्रुङका स्थानीय लाक्पा डुन्डुपले बाढीपहिरोले गाउँबाट तल र माथि जाने दुवैतर्फका पुल बगाएका कारण कतै आवतजावत गर्न नमिल्ने अवस्था सिर्जना भएको बताएका छन्।

त्यसैगरी, दुईवटा लघुजलविद्युत् आयोजना बगाएपछि स्थानीय क्षेत्रमा बत्ती, सञ्चार सेवा तथा विद्युत्बाट सञ्चालन हुने सम्पूर्ण सेवाहरू पूर्ण रूपमा प्रभावित भएका छन्। पुल बगाएपछि लार्केपासका लागि गएका सयौँ पर्यटक बाटोमै अलपत्र परेका छन्।

पर्यटन विभागको तथ्याङ्क अनुसार यस वर्षको शरद ऋतु ९असोज–कात्तिक० मा मनास्लु हिमाल आरोहणका लागि मात्र २९ वटा टोलीका ३४८ जना आरोहीले अनुमति लिएका छन्। विभागबाट समग्रमा ३२ टोलीका ३६७ आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएकामा मनास्लुका आरोहीहरूको संख्या सर्वाधिक रहेको छ। पदमार्गका पुलहरू बगाएपछि भर्खरै सुरु हुँदै गरेको शरद ऋतुको मनास्लु क्षेत्रको पर्यटक आवागमन र पर्यटन व्यवसाय गम्भीर रूपमा प्रभावित बन्ने भएको छ।

प्रकाशित मिति : भाद्र २१, २०८३ आईतबार  ७ : ४५ बजे