काठमाडौं, २४ भदौ । हालैको विनाशकारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने ग्यास ‘एलपी ग्यास’ आपूर्ति संकट समाधान गर्न सरकारले नयाँ आपतकालीन व्यवस्था लागू गरेको छ।
बाढीका कारण ढुवानी र आपूर्ति प्रणाली प्रभावित भई उपभोक्ताले ग्यास पाउन सास्ती व्यहोर्नुपरेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आयल निगम र ग्यास उद्योगीहरूसँग छलफल गरी उपभोक्ता हितमा यस्तो कदम चालिएको हो।
अब उपत्यकाभित्र उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर बजारमा उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर सोही तोकिएको मूल्यमा साट्न पाउनेछन्। आफूले प्रयोग गर्दै आएको ब्रान्ड बजारमा अभाव भएमा वा उपलब्ध नभएमा उपभोक्ताले अन्य ब्रान्डको सिलिन्डरमार्फत ग्यास खरिद गर्न सक्नेछन्। बाढीका कारण आपूर्ति चक्र बिग्रिएकाले उपभोक्तालाई तत्काल राहत दिन यो अस्थायी व्यवस्था गरिएको हो।










