उद्योगी–व्यवसायीलाई दोषी देखाउने उद्योगमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार : उद्योग वाणिज्य महासंघ



काठमाडौ. । नेपाल उद्योग वाणिज्य महासंघले ग्यास उद्योगीलाई लक्षित गरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले दिएको अभिव्यक्ति आपत्तिजनक र गैरजिम्मेवार भएको बताएको छ ।

महासंघले एक विज्ञेप्ती जारी गरि सरकार र निजी क्षेत्रबीचको सम्बन्धमा असर पार्नेगरि उद्योगमन्त्री गौरीकुमारी यादवले आपत्तिजनक अभिव्यक्ति दिएको जनाएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग समितिको बुधबार बसेको बैठकमा मन्त्री यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएकि हुन् ।

महासंघले मन्त्री यादवको उक्त अभिव्यक्ति गैरजिम्मेवार भएको जनाएको छ । ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गरी उपभोक्तालाई नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने संवेदनशील अवस्थामा सम्पूर्ण उद्योगी–व्यवसायीलाई दोषी देखाउने अभिव्यक्ति अनुचित भएको महासंघको भनाई छ ।

भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ग्यास बुलेटको ढुवानी प्रभावित भएको महासंघले जनाएको छ । मन्त्रीको अभिव्यक्तिले विपद्का बेला सरकारसँग सहकार्य गर्दै राहत, उद्धार तथा अत्यावश्यक वस्तुको आपूर्तिमा जुटिरहेका निजी क्षेत्रको मनोबल कमजोर पार्ने महासंघको भनाइ छ ।

प्रकाशित मिति : भाद्र २५, २०८३ बिहीबार  १ : ०७ बजे