सोलुखुम्बुको हुंगा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थाल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



सोलुखुम्बु, भदौ २६ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ र ४ नम्बर वडास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलामा बनेको ड्यामबाट पनि बग्न सुर गरेको छ । उक्त ‘ड्याम’ भरिएर पानी बग्न थालेपछि प्रहरीले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँबस्ती तथा उक्त खोलामा रहेका गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोसी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुईवटा हाइड्रोपावरलाई घटनाबारे जानकारी गराइसकेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब ७ बजे गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब एक सय मिटर तल, वडा नम्बर २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको थियो ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

पहिरो खसेपछि खोलामा करिब एक सय मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक नविन राज बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २६, २०८३ शुक्रबार  ११ : ५१ बजे