काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले यदि कुनै चमत्कार नभए पार्टी विभाजन निश्चित रहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।उनले लेखेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ !’
उनले लेखेका छन्, ‘विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति तथा कार्यसमिति पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐन र सर्वोच्च अदालतले विगतमा प्रतिपादन गरेका नजिरविपरीत रहेको हाम्रो दाबी छ। यस्तो अवस्थामा सभापति गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु र अहिलेको महाधिवेशनमा सहभागी हुनु मेरो नैतिक मूल्य र मान्यताविपरीतको काम हो।’
खड्काका अनुसार सर्वोच्च अदालतको डिभिजन बेन्चबाट आफूहरूको दाबीविपरीत फैसला आएपछि त्यसविरुद्ध पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन दिइएको थियो। पूर्ण इजलासले निर्वाचन आयोगले अपनाएको प्रक्रिया तथा डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी निस्सा दिएको उनले बताएका छन्। उक्त मुद्दा अहिले पनि विचाराधीन रहेको उनको भनाइ छ।
यही परिस्थितिमा गगन थापाको नेतृत्वमा कांग्रेसको महाधिवेशन प्रक्रिया अघि बढाइएकाले त्यसमा सहभागी हुनु आफूलाई नैतिक रूपमा उचित नलागेको खड्काले स्पष्ट पारेका छन्।
उनले पुनरावलोकनको मुद्दाको अन्तिम टुंगो नलागेसम्म महाधिवेशनका सबै प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको पनि बताएका छन्। तर, अदालतले महाधिवेशन रोक्न आवश्यक नदेखिएको भन्दै रिट जारी नगरेपछि कांग्रेसको नाममा अलग–अलग दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको खड्काको दाबी छ। ‘यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ,’ उनले भनेका छन्।
खड्काले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र माननीय न्यायाधीशहरूसँग अपिल गरेका छन् । उनले पार्टीको वैधानिकतासँग जोडिएको पुनरावलोकनको मुद्दालाई परिस्थितिको गम्भीरता बुझेर अग्राधिकार दिई यथाशीघ्र अन्तिम फैसला गरिदिन आग्रह गरेका छन् ।
अहिलेको अवस्थामा महाधिवेशनको प्रक्रियामा भाग लिनुलाई उनले चरम अनैतिक कार्य भन्दै आफू यस प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको पुनः दोहोर्याएका छन् ।










